दैलेख : मानव अधिकारको रक्षा र मानव अधिकार रक्षकहरुको सुरक्षा र पहिचानको विषय लगायत नौ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षक सम्मेलन सकिएको छ ।
आम नागरिकलाई न्यायिक पहुँचमा बृद्धि गर्ने, मानव अधिकारको प्रत्याभूती दिलाउन सरकारी प्रयासहरुको प्रशंसा गर्दै मानव अधिकार रक्षकको पहिचान र सुरक्षा सम्वन्धी आदेश २०७७ को प्रभावकारी कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकारको ध्यानाकर्षण गराउने, मानव अधिकार घटनाका पीडित र साक्षीहरुको सुरक्षा गर्ने, पीडितलाई होष्टाइल हुनबाट जोगाउनुपर्ने, मानव अधिकार रक्षकहरु सुरक्षा र संरक्षणको निम्ति अनुकूलको वातावरण बनाउन सुरक्षा निकाय, स्थानीय सरकार र सरोकारवालाहरुले गर्नुपर्ने लगायतका घोषणा पत्र जारी गरिएको छ ।
इन्सेकले आयोजना गरेको लिल्ला स्तरीय मानव अधिकार रक्षकहरुको दुई दिने मानव अधिकार रक्षक सम्मेलन सम्पन्न गर्दै घोषणा पत्र जारी गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको सम्मेलनमा जिल्लाका ४ वटै नगरपालिकाबाट ४० बढी मानव अधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।
धार्मिक, सांस्कृतिक र लैङ्गिक विभेद तथा असमानता अन्त्य गर्न र उपेक्षित तथा उत्पीडित नागरिकहरुलाई मानव अधिकारको प्रत्याभूत गराउन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु विशेषगरी युवा र बालबालिकालाई विभेदरहित सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको छ ।
जघन्य मानव अधिकार उल्लंघन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष ललितबहादुर थापा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)का जेसी अफिसर लिला खत्रीले सहजीकरण गरेका थिए ।
न्याय प्राप्तिको अभियान सन्दर्भ र मानव अधिकार उलंघन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषयमा राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख लोकनाथ बास्तोता, जिल्ला सरकारी वकील कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत र जिल्ला प्रहरी कार्यालय दैलेख इञ्चार्ज डीएसपी किशोर लम्साललाई प्यानल अतिथि बनाइएको थियो ।
त्यसैगरी मानव अधिकार सवालमा स्थानीय तह र सरोकारवालाको भूमिकामा नारायण नगरपालिका मेयर लोमन शर्मा, महिला सशक्तिकरण मञ्चका संस्थापक अध्यक्ष डिलकुमारी चन्द र नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष तीर्थ भण्डारीले सो विषयमा आ–आफ्नो धारणा राखेका थिए ।











